A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis

Monday, February 22, 2021

राजनीतिक नेतृत्वको कपटपूर्ण व्यवहारले अचिन्त्य परिणामको दुश्चिन्ता

राजनीतिक नेतृत्वको कपटपूर्ण व्यवहारले अचिन्त्य परिणामको दुश्चिन्ता



हरिविनोद अधिकारी
१० फाल्गुन २०७७, सोमबार 

राजनीतिक नेतृत्वको कपटपूर्ण व्यवहारले अचिन्त्य परिणामको दुश्चिन्ता

हरिविनोद अधिकारी
साँच्चै मुलुक एउटा कालो अन्त्यहीन सुरुङमा प्रवेश गरेको छ । यसो हेर्‍यो भने समस्या उत्पन्न त भएकै छ, तर त्यसको समाधान भने सहज देखिँदैन । पुस ५ गते हठात् गरिएको प्रतिनिधि सभाको विघटनलाई जसरी औचित्य साबित गर्न खोजे पनि समस्याको समीकरण यसरी देखिएको छ कि संसद पुनस्र्थापना या निर्वाचन जे भए पनि समाधानले मुलुकको अन्त्यहीन गन्तव्यको बाटो पैल्याउने पटक्कै देखिँदैन ।

एकछिन निर्वाचनको पक्षमा सोचौँ —किन निर्वाचन चाहिएको हो ? मात्र संसदलाई किँकर्तव्यविमूढ बनाउन र कोमामा व्यवस्थापिकालाई सुताउन ? या सत्ताधारीका विरोधीहरुको तेजोबध गर्न ? तेजोबध त नेपाली जनताको भयो किनभने पाँचवर्षका लागि सत्ता सञ्चालन गर्ने जनादेश दिएका थिए । फेरि पनि जनताले त्यस्तै जनादेश देलान् र जे मन लाग्यो त्यही गर्नका लागि लालमोहर चाहिएको हो ? अनि यसरी विद्रोह र जन आन्दोलनको बिचमा हुन लागी हाल्यो निर्वाचन पनि भने के सहज वातावरणमा निर्वाचन होला ? या त्यो निर्वाचनको बेलामा फेरि पनि निर्वाचन वहिष्कारको लहर आयो भने त्यो निर्वाचनले दिने परिणामलाई वहिष्कारवादीले मान्लान् र जे भने पनि मानेर बस्लान् ?

एकछिन संसद पुनस्र्थापनामा पक्षमा सोचौँ —संसद पुनस्र्थापना भयो भने तत्कालै संसद बस्नुपर्छ र अर्को सरकार नबनुन्जेलसम्म यही सरकारले व्यवस्थापिकालाई कार्यक्रम दिने हो । जुन प्रधानमन्त्रीले संसदलाई अपमान गर्दै मृत्युवरण गराए, उनले नै फेरि त्यो व्यवस्थापिकालाई जीवित राख्ने व्यवहार गर्लान् ? या फेरि पनि अन्यौलको वातावरण सृजना गरेर निर्वाचनको बाटोमा मुलुकलाई लैजाने नाममा अस्थिरतातर्फ नै मुलुकको भविष्य डोरिने देखिन्छ । संसद पुनस्र्थापनापछि के हुन्छ भन्ने कुरा प्रदेश सभाहरुमा देखिने नाटकले पनि अनुमान गर्न सकिन्छ ।

सबैको प्रतीक्षा यो बेलामा सर्वोच्च अदालतभित्रको संवैधानिक इजलासको फैसलामा छ । २०७७ साल फागुन ७ गते सम्ममा एमिकस क्युरीका विशेषज्ञहरु वरिष्ठ अधिवक्ताहरु पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, प्राध्यापक पूर्णमान शाक्य, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र गीता संग्रौला पाठकहरुको संवैधानिक अदालतलाई दिने सल्लाहको क्रम समाप्त भइसकेको छ । फागुन १०सम्ममा उहाँहरुको बहस नोट दिइसक्नका लागि सम्माननीय सर्वोच्च अदालतले तोकेको छ । र फागुन ११ पछिको कुनै पनि समयमा फैसला आउने भनेर भनिएको छ । अनुमान गर्न सकिन्छ ढिलोमा फागुन १७ गतेसम्ममा फैसला आउने छ ।

संविधानवादको सिद्धान्तअनुसार र नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै सर्वोच्च अदालतले पुस ५ गते गरिएको प्रतिनिधि सभाको विघटन संविधानतः छ कि छैन या सरकारको त्यो कदम सदर गर्ने कि बदर गर्ने भन्ने फैसलाको प्रतीक्षा छ । अहिलेको लागि मात्र भन्दा पनि संसदमा कानुनतः चुनौती नदिइएको प्रधानमन्त्रीले कुन कुन बेलामा प्रतिनिधि सभा विघटन गर्न पाउनेछन् या छैनन् भन्ने नयाँ अर्थ पनि परिभाषित हुनेछ ।

यो संविधान एउटा सम्झौताको दस्ताबेज हो । कतिपय प्रावधानहरुमा कसको सहमति रह्यो त कतिपय कुराहरुमा कसको सहमति रह्यो । आफूलाई मधेसबादी दलहरु भन्न रुचाउनेहरुले संविधानको विरोध गरे र त्यसमा आवश्यक सुधारका कुराहरु राखेकै छन् । तर संविधान बनाउनेहरुमध्येकै र अपनत्व लिनेमध्येकै दल नेकपा दुई फ्याकमा छ र सरकारमा रहेकाहरुले संविधानका प्रावधानहरुको जस्तो व्याख्या गरे पनि मान्नुपर्ने ढिपीका सरकार देखिन्छ ।

सत्तारुढ नेकपा व्यवहारमा विभाजित छ तर कानुनको आँखामा एउटै छ । आपसको खिचातानीका कारणले अहिले निर्वाचन आयोग पनि अलमलमा छ जसरी कि नेकपा आफैँ अलमलमा छ । त्यही नेकपा सडकमा प्रतिनिधि सभाको विघटनको विरुद्धमा पनि छ, त्यही नेकपा सरकारमा बसेर आगामी निर्वाचनको तयारीमा लागेको छ जुन निर्वाचन हुनै सक्दैन भनेर निर्वाचनका पण्डितहरु भन्न थालेका छन् । खोइ निर्वाचनका लागि गरिएको तयारी ? खोइ नेकपाभित्रको समस्याको समाधान गरिएको ? त्यसैले निर्वाचन आयोग पनि अलमलमा छ । अन्य दलहरु पनि अलमलमा छन् किनभने संविधानवाद भित्रको कुरामा अन्तिम व्याख्या गर्ने अधिकार हाम्रो संविधानले सर्वोच्च अदालतलाई दिएको छ र सर्वाेच्च अदालतको निर्णय कुर्नेबाहेक अरु उपाय छैन तर नेकपाका दुवै थरि विवादका घेरामा सर्वोच्च अदालतलाई ल्याइरहेका छन् र आफ्नो घोषित सिद्धान्तअनुसार चल्ने योजनामा छन् ।

स्थिति अन्यौलग्रस्त नहोस् भन्नलाई त छिटै फैसला आउनु पर्छ जसले गर्दा कम्तीमा पनि मुलुकको राजनीतिले एउटा बाटो पैल्याउने छ । या संसद पुनस्र्थापना हुनेछ र नयाँ सरकारले स्थान ग्रहण गर्नेछ या त ताजा निर्वाचनका लागि बाटो खुल्नेछ । तर दुवै अवस्था राजनीतिक सहजता तर्फको संकेत होइन ।

यसका लागि छिटो फैसला हुनुपर्छ । आगामी दिनमा पनि आउन सक्ने सम्भावित समस्यालाई समेत यो फैसलाले सम्बोधन गरेको हुनुपर्छ । नेपालको संविधानको धारा ७६, धारा ८५, धारा ९३ अनि धारा १०० र यस्तै अहिले चर्चामा आएका धाराहरु र अरु सम्भावना देखिने धाराहरुको व्याख्या हुनुपर्छ । र मात्र भोलिका दिनमा संसद विघटन गर्नका लागि वा विघटन नगर्नका लागि नयाँ बाटो देखिनेछ ।

तर स्थिति भने कुनै पनि अवस्थामा सहज देखिँदैन । सरकारका प्रधानमन्त्रीले घोषणा गरेको पाइन्छ—यत्रो भिड सर्वोच्चले देख्दैन होला त ? अनि प्रधानमन्त्रीका विरोधीहरु पनि भन्छन्—यत्रो भिड सर्वोच्चले देख्दैन होला त ? अर्थात् सडकमा जम्मा भएको भिडको आधारमा सर्वोच्चमा हुने फैसला प्रभावित हुनुपर्ने भयो ।

संसदीय व्यवस्थाका पक्षमा बोल्नुपर्ने संस्था भनेको नेपाली काँग्रेसको नीतिले हो । ढुलमुल नीति भयो भनेर पार्टीभित्रै विवाद देखिन थालेको छ । सडकमा निस्कने भनेको कम्युनिस्टहरुको जस्तो सत्ताको लुछाचुँडीका लागि मात्र नभएर संसदीय प्रणालीको जगेर्नाका लागि जनतालाई सचेत गराउने हो । एकातिर आफ्नो आन्तरिक प्रजातन्त्र धुजा धुजा भएको छ र पार्टीको विधानभन्दा पनि संविधानको आडमा समय थपेर निर्वाचनका लागि या भनौँ महाधिवेशनका लागि मिति तोकिएको अवस्था छ ।
अहिलेको काम चलाउ सरकारका बेलामा केके हुने या नहुने भन्ने कुनै सीमा देखिएन । जे पनि हुन सक्छ , जे पनि गर्न सक्ने अवस्था छ र जुनसुकै कामको पनि संविधान अनुसार नै गरेको भनेर बलमिच्च्याईँ भएकै देखिन्छ ।

राज्य निरंकुशता तर्फ लाग्न थालेको छ र सरकारका विरोधीहरु पनि सरकारसँग भिड्ने मानसिकतामा देखिन्छन् । यसरी दोहोरो भिडन्तमा आखिर पेलिने भनेको नेपाली जनता नै हुन् र मुलुक नै हो । मुलुक जति जति अस्थिरतातर्पm धकेलिन्छ , त्यति त्यति बाहिरिया चलखेलका लागि मार्ग प्रशस्त हुन्छ । नेकपाका दुवै पक्षले एकअर्कालाई विदेशीको इसारामा काम गरेको दोषारोपण गरिरहेका छन् । पक्कै नै कोही न कोहीले त सत्य कुरा गरेकै होलान् । त्यो मान्दा विदेशी चलखेलले नै नेकपाको बिचमा विवाद बढेको हो र संसद विघटनसम्मको अवस्था सृजना भएको हो ।

एउटा स्वैर कल्पना नै सही, एउटा कल्पना गरौँ —आखिर राजनीतिका पात्रहरु भनेका दलहरु नै हुन् र दलको परिचालन गर्ने भनेको नेताहरुले नै हो । जस्तोसुकै समस्या आए पनि आखिर त्यो समस्या भनेको नेपालको नै समस्या हो । फेरि पनि सबैको सहमतिले मात्र नयाँ समस्याको समाधान सम्भव छ । चाहे संसद पुनस्र्थापना भएर नयाँ सरकार बन्ने अवस्था आओस् या निर्वाचन हुने भएर निर्विवादरुपमा संसदीय निर्वाचन हुने कुरामा होस् । आपसमा विवाद नगरी एकताबद्ध भएमा मात्र मुलुकको नयाँ अस्थिरताले निकास पाउने छ । अन्यथा मुलुक नयाँ समस्याभित्र प्रवेश गरेको छ र त्यो समाधान अहिलेको अवस्थामा काम चलाउने सरकारले मात्र सम्भव देखिँदैन ।

आखिर समस्याको भुमरीमा त फसेकै छ । त्यस भुमरीबाट यदि नेपाललाई जोगाउन सकिएन भने मुलुकको नियति सोचेभन्दा धेरै बिग्रने छ । नेपालीहरुको हातबाट नेपालको राजनीति फुत्केपछि भने हुने कुरा अचिन्त्य छ जसमा मुलुकको अस्मितासमेतको प्रश्न जोडिने खतरा छ । विवेकको खडेरी नलागोस् र मुलुकको यो राजनीतिक अन्यौलले निकास पाओस् भन्ने कामना गरौँ ।

Share:

0 Comments:

Post a Comment

Translate

Search dis Blog

Powered by Blogger.

Wikipedia

Search results

Advertisement

Responsive Advertisement

Popular Posts

Blog Archive